गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

पर्वत अस्पताल

कुश्मा, पर्वत, नेपाल

कोष

पर्वत अस्पतालमा विपद कोष स्थापना

     समाजमा सवै नागरिकहरु स्वास्थ्य उपचारका लागि पैसा खर्च गर्न सक्ने अवस्थामा छैनन् । कहिलेकाँही अस्पतालमा उपचारका लागि सामान्य खर्च गरेर सामान्य उपचार सेवा पनि लिन नसक्ने व्यक्तिहरु आउँछन् । सरकारी अस्पताल भएका कारण केहि तोकिएका सेवाहरु निशुल्क नै हुन्छन तर त्यो भन्दा वाहेकका सेवाहरु लिन असमर्थ हुने अवस्था आउँछ । प्रसुती सेवा लिन अस्पताल आएका परिवारमा बच्चा जन्मेपछि खुशीयाली छाएको हुन्छ तर अस्पतालबाट उपलब्ध गराएको निशुल्क सेवा वाहेकका काम र उपचारमा खर्च भएको रकम तिर्न नसकेर अस्पताल वाहिरको चौरमा बसेर झोक्राउनु परेका घटना धेरै देखिन्छ ।

   कहिलेकाँही बजार तथा गाउँमा वेवारिसे (ठेगाना नखुलेका र आफन्त सम्पर्कमा नआएका) व्यक्तिहरु विरामी अवस्थामा भेटिन्छन र तिनीहरु स्थानीय जनप्रतिनिधि तथा प्रहरी मार्फत उपचारका लागि अस्पताल आईपुग्छन् । तिनको उपचारमा हुने खर्च भुक्तानी गर्ने कोही हुँदैन् ।

    कहिलेकाँही यस्ता असहाय, आपद विपदमा परेकाहरु थप उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था पनि आउँछ । अरु उपचारका लागि आर्थिक जोहो गर्ने कुरा त छँदैछ अस्पतालसम्म पुराउनका लागि एम्बुलेन्सको खर्च समेत तिर्न नसक्ने दयनीय अवस्था हुन्छ । मानविय दृष्टिले सहयोग गर्नुपर्ने अवस्था महसुस हुन्छ तर त्यसका लागि कुनै बजेट हुँदैन् ।

   समस्या र बाध्यतामा परेकाहरुलाई राहत हुन सकोस्, आर्थिक विपन्नताका कारण उपचार बाट बञ्चित हुन नपरोस भन्ने मनसायले वास्तविक असहाय र विपदमा परेकाहरुलाई अस्पताल व्यवस्थापन समितिको निर्णय अनुसार सहयोग गर्न सकिने गरि पर्वत अस्पतालमा विपद कोष स्थापना गरिएको छ । यसका लागि व्यवस्थापन समितिले कार्यविधि पारित गरेको छ । यो कोषको परिचालन र खर्च यहि कार्यविधि अनुसार हुने व्यवस्था मिलाईएको छ । संकलित रकम मुद्धती खातामा राख्ने र त्यसको व्याजबाट सहयोग गर्ने परिपाटी मिलाईएकोछ ।

   यो कोषको मद्धतले आर्थिक क्षमता नभएका कारण सामान्य उपचार सेवाबाट बञ्चित हुनुपर्ने अवस्थामा सहायता पुग्ने विश्वास लिएका छौं । यो कोषमा सहयोग गर्ने व्यक्तिहरुको नामावली अस्पतालको मुल प्रवेश द्धार नजिकै स्थायी रुपमा लेखेर राख्ने व्यवस्था मिलाईनेछ भने अद्यावधिक विवरण अस्पतालको वेवसाईटमा समेत राखिनेछ ।