गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

पर्वत अस्पताल

कुश्मा, पर्वत, नेपाल

हाम्रो बारेमा

पर्वत अस्पताल पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको सवैभन्दा तल्लो भाग बडागाउँमा अवस्थित छ । अस्पताल रहेको भाग पवित्र कालीगण्डकी नदि र उर्जा नदिको रुपमा प्रख्यात मोदी खोलाको विच भागमा अवस्थित छ । यो क्षेत्र जिल्लाको मुख्य प्रशासनिक कार्यालयहरु भएको क्षेत्र हो । मध्य पहाडी लोकमार्गको पोखरा बाग्लुङ खण्डको शिवालय चोकबाट लगभग ७०० मिटर दुरीमा अस्पताल अवस्थित छ । 
पर्वत अस्पतालले अस्पतालको मान्यता पाउनु अगाडी कुश्मा हेल्थ पोष्टको रुपमा वि.सं.२०१६ सालबाट सेवा प्रारम्भ गरेको थियो । आफनो भवन नभएका कारण भाडामा लिएर सेवा शुरु गरियो । वि. सं. २०१७ साल भाद्र १ गतेबाट कार्यालय सहयोगीको काम गर्न थालेका कर्ण बहादुर कर्माचार्यका अनुसार वि. सं. २०२४ सालबाट कुश्मा पब्लिक हेल्थ पोष्ट नामाकरण भयो ।  
    वि.सं. २०४६ सालमा पर्वत अस्पताल गठन भएपनि हेल्थ सेण्टर जनस्वास्थ्य कार्यालय मातहत थियो । वि.सं. २०५० मा मात्र कुश्मा पब्लिक हेल्थ सेण्टरलाई अस्पतालमा नै गाभिएको थियो । कर्ण बहादुर कर्माचार्यका अनुसार अस्पतालमा पहिलो डाक्टरको रुपमा अनेकमान गुरुङ आएका थिए । त्यसपछि वि.सं. २०७४ सम्म निरन्तर जिल्ला अस्पताल जिल्ला स्वास्थ्य कार्यालय मातहत रह्यो । वि.स. २०७४ को संघिय तथा प्रदेश सभा निर्वाचन पछि जिल्ला अस्पतालहरुलाई प्रदेश मातहत राखियो । त्यसपछि प्रदेश मातहतका अस्पतालहरुलाई स्वायत्त अस्पतालको रुपमा मान्यता प्राप्त भएको हो । 
    वि.सं. २०४६ माघ १६ गते १५ वेडको मान्यता पाएको अस्पताल हो तर व्यवस्थापनको पहलकदमीमा हाल ३५ वेड सञ्चालन गरिएको छ । केवल २२ जनाको मात्र दरवन्दी रहेको यस अस्पतालमा २ जना मात्र डाक्टरको दरवन्दी स्विकृत छ । तर हाल १ जना MDGP र  ७ जना MBBS,  २ जना BDS सहित काज र करारमा गरि कुल ९२ जनाको प्रेरित र क्रियाशिल टिमको व्यवस्थापन गरि विभिन्न सेवाहरु प्रदान गरिंदै आएकोछ । 
   जिल्ला भरिको भरोसाको केन्द्र रहेको यस अस्पताललाई सुविधा सम्पन्न र आधुनिक बनाउने पहल कदमी भईरहेको छ । रोग पहिचानका लागि आवश्यक अत्याधुनिक उपकरण र मेशिनहरु पर्याप्त प्रवन्ध गरेर सवै प्रकारका सेवा उपलब्ध गराउन सक्दा मात्र उपचारका लागि ठुला शहरमा धेरै पैसा खर्च गरेर जानु पर्ने बाध्यता अन्त्य गर्न सकिन्छ भन्ने मान्यताका साथ पर्वत अस्पताललाई अस्पताललाई प्रविधियुक्त, विश्वसनिय सेवा सहित बिरामी मैत्री बनाउँदै लगिएको छ । यहि वर्षदेखि मृगौलाको डायलासिस सेवा शुरु गरिएको छ । ५ वेड आई सी यु र ३ वटा भेण्टिलेटर जडान गरेर सेवा प्रारम्भ गरिएको छ । अस्पतालको आफनै अक्सिजन प्लाण्ट जडान गरि अक्सिजन उत्पादन गरि सिलिण्डरमा भर्ने झण्झटको अन्त्य गरिएको छ । भिडियो एक्सरे (USG) लाई अत्याधुनिक बनाईको छ भने एक्सरेलाई डिजिटल प्रणाली अनुकुल बनाईएको छ । विद्युतको वैकल्पिक व्यवस्थापनका लागि ८२.५ केभिए को जेनेरेटर प्रवन्ध गरिएको छ । शवलाई लामो समयसम्म सुरक्षित राख्नका लागि शव चिसो बनाउने मेशिन (मर्चरी च्याम्वर) प्रवन्ध गरिएको छ । अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि यसै वर्षदेखि ठुलो क्षमताको अटोक्लेभ मेशिन व्यवस्था गरिएको छ भने फोहोर व्यवस्थापनका लागि भिन्दै भवन निर्माण गरिएको छ । अपरेशन भएका विरामी तथा अन्य रगत आवश्यक पर्ने विरामीहरुको सहजताका लागि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गरि रक्तदाताहरुको रोष्टर तयार गरि अस्पतालमा राखिएको छ । 
    सम्पूर्ण अस्पतालको अनलाईन अनुगमनका लागि सि सि क्यामेरा जडान गरिएको छ । कर्मचारीको विद्युतीय हाजिर पद्धति लागु गरिएको छ । अस्पतालमा आउने विरामी तथा अन्य व्यक्तिहरुका लागि निशुल्क ईन्टरनेट सुविधा उपलब्ध गराईएको छ । नवजात शिशुको सघन उपचारका लागि SNCU वेड व्यवस्थापन गरिएको छ । विगतमा पर्वत अस्पतालमा प्रवन्ध नभएको थाईराईड परिक्षण सेवा सुचारु गरिएको छ । आम्दानी खर्च तथा अन्य वित्तिय पारदर्शिता र प्रभावकारीतका लागि सफ्टवयर जडान गरिएको छ । घरेलु तथा अन्य प्रकारको हिंसामा परेका महिला तथा बालबालिकाहरुका लागि एकद्धार संकट व्यवस्थापन केन्द्र स्थापना गरि सेवा प्रदान गरिंदै आएको छ । 

    पर्याप्त जग्गा जमिन भएको यस अस्पतालले अव ५० शैयाको अस्पतालको रुपमा मान्यता पाउने क्रममा रहेको छ भने लिफ्ट सहितको सुविधासम्पन्न ५० शैयाको भवन निर्माणिाधिन अवस्थामा रहेको छ । नर्सिङ क्वाटर र अस्थायी प्रशासनिक भवन निर्माण सम्पन्न भई परिचालन गरिएको छ । १ वटा एम्वुलेन्स र २ वटा अन्य गाडीहरुको प्रवन्ध गरिएको छ । ७ प्रतिशत छुट पाउने गरि फार्मेसी सेवालाई प्रभावकारी बनाईएकोछ । त्यस्तै गरेर गरिव, असहाय र विपदमा परेकाहरुलाई उपचारमा सहयोग गर्ने अभिप्रायले विपद कोष स्थापना गरिएको छ । 
    प्रविधिले फडको मारिरहेको, स्वास्थ्य क्षेत्रमा नीजि क्षेत्रको लगानी वृद्धि भएको तथा आम सर्वसाधारणले आफुले प्राप्त गर्ने सेवालाई तुलनात्मक रुपमा विश्लेषण गर्ने र सो अनुसार निर्णय गर्ने चेतना विकास भईसकेका कारण अव परम्परागत तरिकाले सेवा प्रदान गरेर सफल हुन सकिने अवस्था छैन् । डाक्टरलाई र उपचार पद्धतिलाई विना जिज्ञासा स्विकार गर्ने परम्पराबाट आज समाज माथि उठेको छ । के भएको हो ? कसरी भएको हो ? के गर्दा ठिक हुन्छ ? यो औषधीले के काम गर्छ ? किन मलाई ठिक भएन ? .... ले त यसो भन्नुभयो नी ? यस्ता प्रश्नहरुको उत्तर समेत उपचारसंग मिश्रित हुने चेतनाको विकास भएको छ । यसकारण पनि स्वास्थ्य संस्थामा संलग्न चिकित्सक, प्राविधिक र सम्पूर्ण टिम संवेदनशिल बन्नुपर्ने र हरबखत सेवाका लागि तम्तयार रहनु पर्ने परिवेश बनेको छ । सो तर्फ हामी सतर्क र सचेत छौं । अस्पतालमा कार्यरत चिकित्सिक तथा अन्य स्वास्थ्यकर्मीहरुलाई विषयगत ज्ञान र सीप विकासका लागि आवश्यकता अनुसारका तालिमहरु प्रदान गरिंदै आएको छ । नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक नभएका कर्मचारीहरुको स्केल वृद्धि गरि श्रम ऐनले तोके बमोजिमको पारिश्रमिक कायम गरिएको छ । 
हाम्रा सेवा सुविधा र अस्पताल सुधारका लागि सवैको सहयोग र सुझावको संधै अपेक्षा गर्दछौं ।


डा. हेमन्त बाँस्तोला

मेडिकल सुपरिटेण्डेन्ट


लक्ष्मण उपाध्याय

सूचना अधिकारी